प्रेस विज्ञप्ति: उच्चस्तरीय जाँजबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर

तुरुन्त प्रकाशनको लागि
विस्तृत जानकारी: सर्फुल्ला अन्सारी
सह-प्रवक्ता
+९७७ ९८४३६४७२५१

उच्चस्तरीय जाँजबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर

काठमाडौं, पौष २२, २०७४ – तेस्रो मधेश आन्दोलनका क्रममा तराई–मधेशका विभिन्न जिल्लामा भएका घटनाक्रममा राज्य र प्रर्दशनकारी बिच भएको क्षति, हिंसाको कारण र समाधान सहित दोषी उपर कारवाहीको सिफारीसको अधिकार सहित गठित उच्चस्तरीउ जाँजबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सानो पाइला अपिल गर्दछ।

तराई–मधेशमा भएका राजनीतिक आन्दोलनमा राज्यले बल प्रयोगगर्नुका साथै मानवअधिकारको उलंघन भएको विभिन्न स्वतन्त्र निकायबाट भएका अध्ययन अवलोकनबाट पुष्टि भएको छ । यस्तै अल्पसंख्यक रहेका थारु समुदाय उपर अत्याधिक बल प्रयोग हुँदा टिकापुरको आन्दोलन हिंसामा पीडित भएको सानो पाइलाले गरेको अध्ययनमा देखिएको थियो।

सरकारले सर्वोच्च अदालतका  पूर्वन्यायधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन सरकारलाई बुझाएको छ। यसप्रकारका प्रतिवेदनले सुझाएका सुझाव, कारवाहीको सिफारीस र आवश्यक अनुसारका संरचना नबन्दा घटनाको पूनरावृत्ती भै रहेको सानो पाइलाको बुझाई छ। आयोगले ७ सय पेजको प्रतिवेदनमा यस्ता सुधारका पक्षहरु समेटेको छ। सानो पाइलाका सह-प्रवक्ता र ल प्रोका अधिवक्ता तथा सूचनाको हकका लागि निरन्तर क्रियाशिल अभियन्ता सर्फुल्ला अन्सारीले पुस १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग प्रतिवेदन माग गरेका छन्। यसमा सानो पाइलाको पूर्ण साथ र सहयोग रहेको सम्बन्धीत सबैका लागि जानकारी गराउछौँ।

‘घटना जनतासँग प्रत्यक्ष सरोकारका विषय थिए, यसका लागि गठित आयोगको प्रतिवेदन जनताले पढ्न पाउनु पर्छ, प्रतिवेदन अनुसार भए नभएको जान्न पाउने अधिकारको सुनिश्चतताका लागि निवेदन दिएको हु,’ अन्सारीले भने। ‘यस्ता प्रतिवेदन स्वयम सरकारले सार्वजनिक गर्नुपर्नेमा नागरिकले सूचनाको हक सम्बन्धी अधिकारको प्रयोगगर्दै माग गर्नु बिडम्बना हो’ सानो पाइलाका संस्थापक कञ्चन झाले बताए।

आयोगमा नेपाल प्रहरीका अवकाशप्राप्त एआइजी नवराज ढकाल, राष्ट्रिय अनुसन्धान विभागका अवकाशप्राप्त डिआइजी सुखचन्द्र झा, पूर्व नायब महान्यायधिवक्ता सूर्य कोइराला र कानुन व्यवसायी सुरज लोप्चन सदस्य थिए। गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका सहसचिवले आयोगको सदस्यसचिवका रुपमा काम गरेका थिए।

धन्यबाद।

Official Press Release:- Press Release_Aayog_Pratiwedan